रामेछाप उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा व्यवसायीहरूको उत्साहजनक सहभागिता देखिएको छ। शुक्रबार जिल्ला सदरमुकाम मन्थलीमा सम्पन्न निर्वाचनमा कुल मतदाताको ८०.२१ प्रतिशत मत खसेको छ।
निर्वाचन समितिका अनुसार संघमा आबद्ध कुल १ हजार ६ सय ९८ मतदातामध्ये १ हजार ३ सय ६२ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन्। मतदान गर्नेहरूमा ९ सय ६६ जना पुरुष र ३ सय ९२ जना महिला व्यवसायी रहेका छन्। जिल्लाको निजी क्षेत्रको कमान्ड सम्हाल्ने अध्यक्ष पदका लागि प्रकाशकुमार श्रेष्ठ र कुमार श्रेष्ठबीच कडा प्रतिस्पर्धा देखिएको छ।
दिनभर शान्तिपूर्ण रूपमा चलेको मतदान प्रक्रिया साँझ सम्पन्न भएसँगै अब सबैको ध्यान मतगणनातर्फ सोझिएको छ। निर्वाचन समितिले आवश्यक प्रक्रिया पूरा गरी केहीबेरमै मतगणना सुरु गर्ने तयारी गरेको छ। दुई श्रेष्ठमध्ये रामेछापका व्यवसायीले कसको पक्षमा आफ्नो मत खसालेका छन् भन्ने कुराको फैसला केही घण्टाभित्रै हुनेछ।









