नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न अनुमति माग गर्दै प्रहरीले बुझाएको मिसिल जिल्ला अदालत काठमाडौँले फिर्ता गरिदिएको छ। धादिङकी शोभा पाठकले यसअघि नै तामेली (प्रक्रिया रोकिएको) मा राखिएको मुद्दालाई पुनः ब्युँताउँदै पक्राउ अनुमति माग गरेकी थिइन्। सोही निवेदनका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुमति माग्दै अदालतमा मिसिल पेश गरेको थियो।
जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार न्यायाधीश ध्रुव कार्कीको इजलासले उक्त मिसिलमा पक्राउ अनुमति दिन अस्वीकार गरेको हो। अदालतले एक पटक तामेलीमा पुगिसकेको मुद्दामा सोही आधारमा पक्राउ पुर्जी जारी गर्न नमिल्ने कानुनी रायसहित मिसिल फिर्ता पठाएको स्रोतले जनाएको छ। योसँगै बस्नेतविरुद्ध तत्काल पक्राउ पुर्जी जारी गराउने प्रहरीको प्रयासमा कानुनी अड्चन देखिएको छ।









