खोटाङको बालवेशीमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी घाइते भएकाहरूलाई थप उपचारका लागि तत्काल काठमाडौँ ल्याइएको छ। दुर्घटनामा घाइते भएका एक जना यात्रु र पाइलटलाई हेलिकप्टरमार्फत उद्धार गरी दिउँसो १२ः४२ बजे काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ।
काठमाडौँबाट ५ जना यात्रु र १ जना पाइलट गरी कुल ६ जना बोकेर उडेको ‘कल साइन एन–एएफक्यु’ रहेको उक्त हेलिकप्टर बुधबार बिहान ११ः०९ बजे अवतरणका क्रममा असन्तुलित भई जमिनमा पल्टिएको थियो। अवतरणकै क्रममा भएको यस भवितव्यमा ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। खोज तथा उद्धार समन्वय केन्द्रले घटनाको थप विवरण संकलन गरिरहेको छ भने हेलिकप्टर असन्तुलित हुनुको प्राविधिक कारणबारे विस्तृत अनुसन्धान सुरु गरिएको कार्यालयले जनाएको छ।









