काठमाडौँको नागार्जुन नगरपालिका–८, भीमढुंगाबाट हुण्डी र अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को अवैध कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले भीमढुंगाका २८ वर्षीय सागर गिरी र २८ वर्षीय प्रमोदप्रसाद धिताललाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट एक करोड १६ लाख रुपैयाँ नगद, २७ लाख ३० हजार रुपैयाँ बराबरका तीन वटा चेक, ३१ वटा सिमकार्ड, ६ वटा मोबाइल र सात हजार १७५ युएसडिटी (USDT) क्रिप्टो करेन्सी बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार उनीहरूले लामो समयदेखि अवैध रूपमा वित्तीय कारोबार गर्दै आएका थिए। बरामद गरिएका सामग्रीमा दुई वटा चारपाङ्ग्रे र एउटा दुईपाङ्ग्रे सवारी साधन समेत रहेका छन्। पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









