सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ। एक अन्तर्वार्तामार्फत मुख्यमन्त्रीले ५ लाख रुपैयाँ मागेको र रकम नदिएपछि पूर्वाग्रही भएर आफ्नो सरुवा गरिएको दाबी गर्ने भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीले साइबर अपराधअन्तर्गत नियन्त्रणमा लिएको हो।
मन्त्रालयले भट्टको उक्त अभिव्यक्तिलाई निराधार र निजामती कर्मचारीको आचरण विपरीत भएको भन्दै यसअघि नै २४ घण्टे स्पष्टीकरण सोधेको थियो। मुख्यमन्त्री शाहले आफूमाथि लगाइएको आरोपमा कुनै सत्यता नरहेको र आफ्नो चरित्रहत्या गर्ने मनसायले कपोलकल्पित कुरा प्रचार गरिएको भन्दै कारबाहीको माग गर्नुभएको थियो। यसअघि पनि पटक-पटक विवादास्पद अभिव्यक्ति दिँदै आएका भट्टमाथि चित्तबुझ्दो जवाफ नदिएपछि कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।









