नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई ३० भन्दा बढी केन्द्रीय नेताहरूले पदबाट राजीनामा नदिन आग्रह गरेका छन्। सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ को नेतृत्वमा शनिबार थापाको निवास पुगेको टोलीले मुलुक, संविधान र पार्टीको चुनौती सामना गर्न थापाकै नेतृत्व आवश्यक रहेको बताएको हो।
निर्वाचनमा हारजित हुनु स्वाभाविक प्रक्रिया भएको र मतदाताले कहिलेकाहीँ मन परिवर्तन गर्दैमा विचलित हुन नहुने उनीहरूको तर्क छ। १५औँ महाधिवेशन सम्पन्न गर्न र पार्टीलाई नयाँ ऊर्जा दिन थापाले पद छोड्न नहुने भन्दै अजयबाबु शिवाकोटी, मधु आचार्यसहितका नेताहरूले दबाब दिएका हुन्। फागुन २१ को निर्वाचन परिणामपछि थापाले राजीनामा दिने मनस्थिति बनाएको चर्चाबीच नेताहरूले उनलाई यस्तो आग्रह गरेका हुन्।









