जिल्ला कारागार रामेछापमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तोकिएको मतदान कार्य बिहान ९ बजेअघि नै सम्पन्न भएको छ। रामेछाप नगरपालिका-८ स्थित अस्थायी मतदान केन्द्रमा २ जना कर्मचारी र ३८ जना कैदीबन्दी गरी कुल ४० जनाले मतदान गरेका हुन्।
नामावलीमा रहेका ३९ कैदीमध्ये एक जना यसअघि नै रिहा भएकाले बाँकी सबैले बिहानै मतदान गरिसकेको मतदान अधिकृत अरुण तिम्सिनाले जानकारी दिनुभयो। मतदान प्रक्रिया छिट्टै सकिएकाले अबको समयबारे प्रशासनसँग समन्वय भइरहेको छ। हाल रामेछाप जिल्लाभर १४ राजनीतिक दल र ३ स्वतन्त्र उम्मेदवारका लागि शान्तिपूर्ण रूपमा मतदान जारी छ।









