काठमाडौं विश्वका सबैभन्दा प्रदूषित शहरहरूमध्ये पाँचौँ स्थानमा परेको छ। स्विजरल्यान्डस्थित वायु प्रदूषण मापन संस्था IQAir ले सार्वजनिक गरेको सूचीअनुसार शुक्रबार काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १५८ पुगेको छ, जुन जनस्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर तह हो।
सूचीमा हनोई १६४ अंकसहित पहिलो, लाहोर १६२ अंकसहित दोस्रो तथा कोलकाता र दिल्ली १६० अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन्।
एक्यूआई २०१ देखि ३०० सम्म पुगेमा वैजनी रङको श्रेणीमा राखिने र उक्त तह मानव स्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर मानिन्छ। सो अवस्थामा खुला स्थानमा शारीरिक गतिविधि नगर्न र घरभित्रै बस्न सुझाव दिइन्छ। ३०० भन्दा माथिको एक्यूआई मरुन रङको घातक तह मानिन्छ।
डिजेलमा आधारित सवारीसाधन, वन डढेलो, इँटा उद्योग, कृषि अवशेष तथा फोहोर दहनलाई वायु प्रदूषणका प्रमुख कारकका रूपमा लिइँदै आएको छ।









