निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार वा मतदानको अधिकार प्रयोगमा अवरोध पुर्याए दुई लाख रुपैयाँ जरिवाना, तीन वर्षसम्म कैद वा दुवै सजाय हुने जनाएको छ। प्रतिनिधिसभा निर्वाचनका क्रममा दल तथा उम्मेदवारको प्रचारकार्य विभिन्न माध्यमबाट अनुगमन भइरहेका बेला अवरोधसम्बन्धी गुनासा प्राप्त भएपछि आयोगले गम्भीर ध्यानाकर्षण गराएको हो।
आयोगका अनुसार कुनै दल, उम्मेदवार वा उनीहरूका समर्थकले आयोजना गरेका जुलुस, आमसभा, कोणसभा, बैठक वा अन्य कार्यक्रम बिथोल्न नपाइने व्यवस्था आचारसंहितामा स्पष्ट छ। प्रचारप्रसारमा बाधा नपुर्याई शान्तिपूर्ण र निष्पक्ष वातावरण सुनिश्चित गर्न आयोगले सबै पक्षलाई आग्रह गरेको छ।









