दोलखाको उच्च हिमाली क्षेत्रमा आजदेखि हिमपात सुरु भएको छ भने तल्लो भेगमा असिनासहित वर्षा भएको छ ।
मंगलबार अपराह्न्नदेखि कालिञ्चोक, शैलुङ, चेर्दुङ, बेदिङ र लप्चीलगायतका स्थानमा हिमपात भएको हो ।
यसैगरी चरिकोटसहित जिल्लाका तल्लो भागमा असिनासहित पानी परेपछि किसान हर्षित भएका छन् । मकै छर्ने तयारीमा रहेका किसानका लागि यो वर्षा उपयोगी हुने अपेक्षा गरिएको छ । लामो समयदेखि वर्षा नहुँदा सुख्खा बनेका बारीमा चिस्यान पुगेको किसानले बताएका छन् ।
माथिल्लो भेगमा आलु रोपिसकेका किसानले पनि हिमपातलाई सकारात्मक रूपमा लिएका छन् । हिमपातले जमिनमा आवश्यक आर्द्रता कायम राख्ने र बाली सप्रिने विश्वास उनीहरूको छ ।
हिमपातसँगै पर्यटकीय गन्तव्य कालिञ्चोक र शैलुङमा आन्तरिक पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ । हिमपात अवलोकनका लागि पर्यटक आउने क्रम बढ्ने अनुमान गर्दै स्थानीय होटल व्यवसायी उत्साहित बनेका छन् ।









