उमाकुण्डले युवालाई सरकारी जागिरे बनाउने कक्षा चलाउने
मन्थली -रामेछापको उमाकुण्ड गाउँपालिकाले चालु बर्ष लोक सेवा र शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन गर्ने भएको छ । देशका युवाहरु विदेशीने क्रम बढेको बेला पालिकाले भने युवालाई सरकारी सेवामा जागिर खुवाउने योजनाको साथ निशुल्क लोक सेवा कक्षा चलाउने भएको हो ।
मंहगो शुल्क तिरेर अन्य ठाउँमा कक्षा लिनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै पालिकामै कक्षा सञ्चालन गरिने पालिकाले जनाएको छ ।
कक्षा सञ्चालनले लोकसेवा र शिक्षक सेवा आयोगको परिक्षामा प्रतिष्पर्धा तथा सफल हुनका निम्ति सहयोग पुग्ने उपाध्यक्ष सावित्री सुनुवार ले बताउनु भयो । सरकारी सेवामा प्रवेशको चाहना र क्षमता भएका युवाहरुलाई कक्षा दिएर सफल बनाई लक्ष्य हासिल गर्न सघाउने उद्देश्यले यो नीति लिइएको उहाँको भनाइ छ । उहाँका अनुसार यो कार्यक्रम सञ्चालनको लागि पाँच लाख रुपैँया बिनियोजन गरिएको छ ।









