रसकारी कार्यालयमा प्रशासनको छड्के, तीन कार्यालय प्रमुख अनुपस्थित, एउटा कार्यालयमा यस्तो समस्या !
मन्थली – जिल्ला प्रशासन कार्यालय रामेछापले बुधबार जिल्लाका ११ वटा सरकारी कार्यालयहरूमा छड्के अनुगमन गरेको छ । दशैँपछि खुलेका सरकारी कार्यालयको अवस्था, सेवाप्रवाहको स्थिति र कर्मचारीको उपस्थिति बारे जानकारी लिन प्रशासनको टोलीले छड्के अनुगमन गरेको हो । प्रशासनका नायबसुब्बा लक्ष्मण भुजेलले बर्षको तीन-तीन महिनामा जिल्ला सरकारी कार्यालयको अनुगमन गर्ने गरिएको बताउदै यसले कार्यालयहरुलाई थप जिम्मेवारी महसुस गराई सेवा प्रवाहमा गुणस्तरियता कायम हुने अपेक्षा गरिएको बताउनु भयो । बुधबारको अनुगमनमा संघीय खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन र सघन शहरी विकास कार्यालयका प्रमुखहरू कार्यालय खुलेको दुई दिनसम्म पनि हाजिर नभएको भेट्टाएको छ । अनुपस्थित प्रमुखहरूलाई तत्काल कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ।यसका साथै, सघन शहरी तथा भवन निर्माण आयोजनामा अर्को एउटा समस्या पनि देखिएको छ ।उक्त कार्यालयमा ६-७ जना करारका कर्मचारीहरू करार सम्झौता बिना नै काम गरिरहेको पाइएको नासु भुजेलले बताउनु भयो । यो गम्भिर समाधानको लागि पनि कार्यालय प्रमुखलाई निर्देशन दिइएको उहाँको भनाइ छ । दशैँ लगत्तै प्रशासनको यो सक्रियताले सरकारी कार्यालयमा गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ ।









