मन्थली- सगरमाथा आरोहण र आधार शिविर जाने पर्यटकलाई लक्षित गरी रामेछापबाट लुक्लासम्मको सिधा हवाई उडान सुरु भएको छ।नागरिक उड्डयन प्राधिकरणका अनुसार, शरद ऋतुका लागि यो उडान महत्वपूर्ण मानिएको छ। विभिन्न एयरलाइन्स कम्पनीहरूले पर्यटकहरूलाई काठमाडौंबाट सडकमार्ग हुँदै मन्थली (रामेछाप) सम्म ल्याएर त्यहाँबाट लुक्लाका लागि हवाई उडान भर्ने व्यवस्था गरेका छन्।
हाल सीता, तारा र समिट एयर लगायतका कम्पनीले यो रुटमा सेवा दिइरहेका छन्। रामेछाप नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी प्रज्वल गुरागाईंले मौसम अनुकूल हुँदा दैनिक ५० देखि ६५ वटासम्म उडान भइरहेको जानकारी दिए। यसले सगरमाथा क्षेत्रमा जाने पर्यटकहरूका लागि यात्रा अझ सरल र छोटो बनाएको छ।









