मन्थली- जिल्ला प्रशासन कार्यालय रामेछापले दशैं, तिहार, नेपाल संवत् र छठ पर्वलाई लक्षित गरी विशेष अपिल जारी गरेको छ। चाडपर्वहरूलाई शान्त र सुरक्षित बनाउनका लागि प्रशासनले सर्वसाधारणलाई विभिन्न नियमहरू पालना गर्न अपिल गरेको हो ।
कार्यालयले शनिबार एक सूचना जारी गर्दै वाडबाडका बेला हुन सक्ने कालोबजारी, अत्यधिक मूल्य वृद्धि, अवैध मदिराको बेचबिखन, जुवातास, चोरी तथा लुटपाट जस्ता आपराधिक गतिविधिहरू रोक्न विशेष निगरानी राख्ने जनाएको छ।
यातायातका सन्दर्भमा, सवारी साधनहरूमा क्षमताभन्दा बढी यात्रु राख्ने र तोकिएभन्दा बढी भाडा असुल्ने कार्यमा संलग्न नहुन यातायात व्यवसायी र चालकहरूलाई चेतावनी दिइएको छ।
यस्ता गतिविधिहरूमा संलग्न पाइएमा कडा कानूनी कारबाही गरिने प्रशासनले जनाएको छ ।
पर्वहरूलाई यसको मौलिक धार्मिक, सामाजिक र सांस्कृतिक महत्व कायम राख्दै सभ्य र मर्यादित तरिकाले मनाउन पनि प्रशासन कार्यालयले सबैलाई आग्रह गरेको छ। चाडपर्वको बेला समाजमा शान्ति, सद्भाव र भाइचाराको वातावरण कायम राख्न सबैको सहयोग महत्वपूर्ण हुने कार्यालयले जनाएको छ ।










