काठमाडौँ । राजधानीमा भइरहेको जेनजी आन्दोलनमाथि प्रहरीले गरेको गोलीप्रहारमा १५ जनाको मृत्यु भएको छ । प्रहरीका एक उच्च अधिकारीले मृतकको तथ्याङ्क पुष्टि गर्दै विभिन्न अस्पतालमा राखिएका घाइतेमध्ये कतिपयको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।
मृतकमध्ये ७ जनाको उपचार ट्रमा सेन्टरमा भइरहेका बेला निधन भएको हो भने सिभिल अस्पतालमा ३, त्रिवि शिक्षण अस्पतालमा १ र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा २ जनाको मृत्यु भएको छ ।
आन्दोलनकारीलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले प्रदर्शनकारीको टाउकोमै लक्षित गरी गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । ट्रमा सेन्टरका चिकित्सकका अनुसार बाँकेका २५ वर्षीय सुलभ राज श्रेष्ठ र १९ वर्षीया सिमाय चौलागाईंको टाउकोमा गोली लागेको थियो । त्यस्तै, कालिकोट खाडाचक्र नगरपालिका–१ का २५ वर्षीय पवन शाही पेटमा गोली लागेर ज्यान गुमाएका छन् ।
प्रहरीको गोली लागेर सञ्चारकर्मीहरू समेत घाइते भएका छन् । कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ र नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगाना उपचाररत छन् । यसैबीच, बानेश्वर क्षेत्रमा भएको झडपमा मात्रै ८७ जना घाइते भएका छन् र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।