काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले हमासद्वारा बन्धक बनाइएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई पहल गरिदिन आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेलले मङ्गलबार जोर्डनका राजालाई पठाएको पत्रमार्फत् जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीका लागि मानवीय र कूटनीतिक पहल गर्न अनुरोध गरेका हुन् । पत्रमा उनले यस प्रयोजनका लागि जोर्डनले चाल्ने सबै मानवीय तथा कूटनीतिक कदमलाई नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने उल्लेख गरेका छन् ।
यसअघि, जोशीकी आमा र बहिनीले आइतबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरी रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए। सो अवसरमा राष्ट्रपति पौडेलले जोशीको सुरक्षित उद्धारका लागि आफूले थप प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए ।