मकवानपुर । बागमती प्रदेशमा उत्पन्न राजनीतिक अन्योलताबारे नेकपा एमालेले नेपाली कांग्रेसकै संस्थागत निर्णयलाई आधार मानेर अघि बढ्ने स्पष्ट पाटो दिएको छ ।
बुधबार एमालेको बागमती प्रदेश संसदीय दलको बैठक बसेको बैठकले प्रदेश सरकारको नेतृत्वबारे देखिएको अन्योल समाधान गर्न सत्तारूढ दल कांग्रेसले लिने आधिकारिक निर्णयलाई सम्मान गर्ने निष्कर्ष निकालेको हो । बैठकपछि एमाले प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेलले कांग्रेसको औपचारिक निर्णयलाई पर्खेर अगाडि बढ्ने निर्णय बैठकले गरेको जानकारी दिए ।
पोखरेलका अनुसार राजनीतिक अन्योल समाधान गर्न दलहरूबीच चाँडै छलफल गरेर साझा निष्कर्षमा पुग्ने तयारी बैठकले गरेको छ । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमाथि पनि विस्तृत छलफल भएको थियो ।
एमालेले पछिल्लो समय बागमती प्रदेश सरकारबारे कांग्रेसभित्र देखिएको नेतृत्वको अनिश्चिततालाई अविलम्ब स्पष्ट पार्न आग्रह गर्दै आएको छ । कांग्रेसले छिट्टै औपचारिक निर्णय लिने संकेत दिएका बेला एमालेले पर्ख र हेरको रणनीति लिएको हो ।









