काठमाडौं । भारतसँगको सीमा समस्या समाधान गरेर परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ गर्दै लैजाने परराष्ट्रमन्त्री आरजु राणाले बताउनु भएको छ । मन्त्रालयमा सोमबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री राणाले देशको समृद्धिमा पनि परराष्ट्र मन्त्रालयले धेरै ठूलो भूमिका खेल्नसक्ने बताउनु भएको छ ।
परराष्ट्रमन्त्री राणाले भन्नु भयो, ‘यो ठूलो सेना भएको देश पनि होइन, हामी पञ्चशीलमा विश्वास गर्ने देश हौं । यो जिम्मेवारीलाई अघि बढाउन पनि भूमिका खेल्नुपर्ने देखिन्छ । यो पोलिटिक्स पहिलाको भन्दा भिन्दै भएर गइरहेको छ । अहिले पनि हामी सबै मिलेर अन्तर्राष्ट्रिय सम्बन्धलाई विस्तार गरेर लैजानुपर्छ । देशको समृद्धिमा पनि परराष्ट्र मन्त्रालयले धेरै ठूलो भूमिका खेल्नसक्छ । विभिन्न देशसँग पनि हामीले दौत्य सम्बन्ध राखेका छौं ।’
परराष्ट्रमन्त्री राणाले भारतसँगको सीमा समस्या भूगोल, इतिहास र जीपीएस नक्साका आधारमा समाधान गर्ने बताउनु भयो । पहिलाभन्दा अहिले धेरै सूचना भएकाले दुई देशबीचको पिलरको झगडा गर्नुपर्ने अवस्था नरहेको उहाँले बताउनु भयो । कालापानी, लिम्पियाधुरा र लिपुलेकको विषयमा पनि दुई देशबीच छलफल गरेर निष्कर्षमा पुग्न सकिने उहाँको भनाई छ ।