रामेछाप । रामेछाप अस्पतालमा भदौ १३,१४ र १५ गते भएको शिविरमा ३९ जनाले निःशुल्क शल्यक्रिया गराएका छन् । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाण्डौं सँगको सहकार्यमा रामेछाप अस्पतालमा सञ्चालित निःशुल्क शल्यक्रियामा ३९ जनाले निःशुल्क शल्यक्रिया गराएको नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीका सिनियर अफिस असिस्टेन्ट घनश्याम न्यौपानेले जानकारी दिनु भयो ।
नेपाल अर्थोपेडिक अस्पतालका वरिष्ठ हाड जोर्नी विशेषज्ञहरूबाट सेवा प्रदान गरिएको उक्त शिविरमा ३ सय २१ जनाले ओपिडी सेवा समेत लिएको जानकारी दिए । निःशुल्क सञ्चालन भएको शिविरमा भदौ १३ गते ओपिडी सेवा १२१ शल्यक्रिया १५, भदौ १४ गते ओपिडी सेवा ११९ शल्यक्रिया १४ र भदौ १५ गते ओपिडी सेवा ५१ शल्यक्रियामा १० जनाले सेवा लिएको न्यौपानेले जानकारी गराउनु भएको छ ।
रामेछाप अस्पतालमा पहिलो पटक शल्यक्रिया सहितको यति ठुलो शिविर सञ्चालन भएको अस्पतालका अध्यक्ष यम पाख्रिनले जानकारी दिनु भयो । लामो समय देखी विभिन्न समस्यामा रहेका बिरामीहरूको निःशुल्क शल्यक्रिया भएकोले यो शिविर उपलब्धिमूलक रहेको पाख्रिनले जानकारी दिए । विभिन्न व्यक्तिहरूले रामेछाप अस्पतालमा विवाद रहेको भन्ने हल्ला फिँजाएर राजनीतिक गरी शिविरलाई बिथल्न खोजे पनि सबै जना एक ढिक्का भएर शिविर सफलता पूर्वक सम्पन्न गर्न सफल भएको उनले बताए । नेपाल अर्थोपेडिक अस्पतालका वरिष्ठ अर्थोपेडिक डाक्टर युवराज खरेल नेतृत्वको १६ जना डाक्टरको टिमले शिविरमा सेवा प्रदान गरिएको जानकारी दिए ।
रामेछाप अस्पतालले महिनामा १ पटक पेट तथा कलेजो रोग विशेषज्ञ सेवा, मानसिक तथा नशा रोग विशेषज्ञ सेवा ,नाक, कान, घाँटी, हाड जोर्नी विशेषज्ञ सेवा र मुटु रोग विशेषज्ञ लगायत सेवाहरू थप हुने क्रममा रहेको समेत जानकारी दिएका छन् । खुट्टाको पैताला फर्किएको,जन्मजात हात खुट्टा बाङ्गिएका,हात वा खुट्टाका विकृति जन्य समस्याहरू,हात वा खुट्टा भाँचिएको,हात वा खुट्टा बाङ्गिएर जोडिएको,भाँचिएको पाता वा खुट्टा भाँचिएको वा किला राखिएको,हातमा आगोले पोलेको,हाट खुट्टामा भएको गाँठा गुँठीहरु निकाल्ने लगायतको सेवाहरू प्रदान गरिएको हो ।
नेपाल अर्थोपेडिक अस्पतालले शल्यक्रिया तथा बिरामीको परीक्षणको लागी सबै उपकरणहरू अस्पतालमै ल्याएर परीक्षण गरिएको थियो । शिविरमा रामेछाप,दोलखा,सिन्धुली लगायत विभिन्न जिल्लाका बिरामीहरूले सेवा लिएका छन् ।