रामेछाप । रामेछापमा पनि “घरबाटै शुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने मुल नाराका साथ बुधवारबाट १६ दिने महिला हिंसा विरुद्धको अभियान शुरु भएको छ ।
सदरमुकाम मन्थलीमा विभिन्न प्लेकार्ड सहित निस्किएको रर्यालीले मन्थली वजार परिक्रमापछि कोणसभामा परिणत भएको थियो । कोणसभा बोल्ने अधिंकास वक्ताहरुले महिला हिंसाका घटनामा कमी नआउँदा चिन्ता व्यक्त गरेका थिए । जिल्लामा सरकारी तथा सामाजिक संघसंस्थाहरुले विभिन्न सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दा पनि महिला हिंसाका घटना घटनु त कता हो कता झन बृद्धि हुँदै गएकाले यसलाई कसरी राेक्ने भन्ने चिन्ता व्यक्त गरेका थिए ।
रामेछापमा हरेक वर्ष मंसिर ९ गतेदेखी २४ गतेसम्म सामाजिक सचेतना सहित लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन गर्दै आएको छ । जिल्लाका २ नगरपालिका र ६ वटा गाउँपालिका गरि ८ वटै स्थानिय तहहरुले यो कार्यक्रम गर्दै आएका छन् । जिल्लाका सवै स्थानिय तहहरुले महिला हिंसा विरुद्धका कार्यक्रमहरु संञ्चालन गरेपनि अझै हिंसाका घटनामा कमी आउन सकेको छैन् ।
त्यसैगरी जिल्लामा रहेर सामाजिक क्षेत्रमा काम गर्दै आएका विभिन्न सामाजिक संघसंस्थाहरुले पनि १६ दिने महिला हिंसा विरुद्धको कार्यक्रमहरु मनाउँदै आएका छन् । जिल्लामा महिला हिंसाका विरुद्धको कार्यक्रम जतिसुकै संचालन भए पनि महिला हिंसाका घटनाहरु भने अझै रोकिन सकेका छैनन् ।