रामेछाप । पछिल्लो समय रामेछापमा ढुङ्गा माटो जडान गरेर माटोले लिपिस्एका र खरले छाएर चिटिक्क पारेका परम्परागत घर लोप हुँदै गएका छन् ।
ढुङ्गा माटो र खरले छाएको घरलाई पछिल्लो समय जस्ता, इँटा र सिमेन्टको घरले विस्थापित गर्दै आएको हो । अर्कोतिर रामेछापवाट तेस्रो मुलुकमा रोजगारिको लागि जाने संख्या बृद्धिभएसँगै देखासेखीकै कारण पनि पुराना परम्परागत घरहरु विस्थापित गरेर नयाँ पक्की घर, इट्टा र जस्तापाता लगाएर घर बनाउनेको सख्यामा समेत बृद्धि भएको हो ।
जलवायु परिर्वतनको कारण गाउँमा वर्षातको समयमा समेत पानी कम पर्न थालेपछि घर छाउन प्रयोग गरिने खर उत्पादनमा समेत कमी हुँदै आएको छ । गाउँमा खर पाउनै छाडेपछि घर छाउन समस्या एकातिर हुँदै आएको छ भने अर्कोतिर खरको छानो भएको घर आगलागीको हिसावले अत्यन्तै जोखिम समेत मानिने भएकाले खरको छानो विस्थापत गरेर नागरिकहरु अन्य विकल्पको खोजीमा लागेको रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले जानकारी दिए ।
उनले भने– पालिकामा अहिले खरले छाएका घरहरु भेट्न निकै मुश्किल छ । २०७२ सालको बिनासकारी भुकम्पले प्राय सबै पुराना परम्परागत घरहरु भत्किएपछि पुनर्निमार्णको क्रममा बनेका अधिकासं घरहरु इट्टा, सिमेन्ट र जस्तापाताको छानो प्रयोग गरे निमार्ण गरेकाले पनि खरले छाएका घरहरु विस्तापित हुन पुगेका हुन् ।
ढुुङ्गा माटो र खरले छाएको परम्परागत घरमा बस्न स्वास्थ्यको हिसावले अत्यन्त राम्रो मानिएता पनि पछिल्लो समय त्यस्ता घरहरु भेट्नै मुश्किल पर्ने गरेको मन्थली नगरपालिका–१ का टेकबहादुर भुजेलले जानकारी दिए । उनले भने– परम्परागत घरमा बस्न जाडोको समयमा न्यानो हुने र गर्मीको समयमा चिसो हुने गर्दथ्यो । तर अहिले गाउँमा ढुङ्गा माटोले घर बनाउने मिस्त्री र घर छाउन प्रयोग हुने खर पाउनै समस्या भएपछि खरको बिकल्पमा जस्ता र सिमेन्ट प्रयोग गर्न थालिएको भुजेलले बताए ।
खरको छाना भएका घरहरु दुई देखी तीनवर्षमा छानो मर्मत गरिरहनुपर्ने, खर नै नपाइने, छानो छाउने सिप भएको मिस्त्री नै भेटिन मुश्किल पर्ने र अर्कोतर्फ वर्षेनी ढुङ्गा माटोको घर लिपपोत र मर्मत गरिरहनु पर्ने भएकाले पनि पुराना परम्परागत घरहरु छाडेर नयाँ आधुनिक किसिमका घरहरु निमार्ण हुने क्रम बढेको हो ।
रामेछापका दुई नगरपालिका र ६ वटै गाउँपालिका गरि ८ वटै स्थानिय तहका ग्रामिण भेगसम्म सडक सञ्जालले जोडिएसँगै राजधानी र तराइका जिल्लावाट सिमेन्ट, छड र इट्टा गाउँसम्म पुग्ने भएपछि सबै नागरिकको रोजाइमा सिमेन्टको पक्की घर पर्न गएको हो । अर्कोतिर गाउँका युवा जनशक्ती वैदेशिक रोजगारीको लागि तेस्रो मुलुक तर्फ हिडेपछि गाउँमा काम गर्ने जनशक्ति नै नहुँदा परम्परागत घर भन्दा सहज सिमेन्टको घर बन्ने गरेको छ । परम्परागत ढुङ्गा माटो र खरले छाएको घर स्वास्थ्यको हिसाबले धेरै राम्रो मानिने मन्थली अस्पतालका डा.केशब धामीले जानकारी दिए ।