रामेछाप । नेपाली काँग्रेस रामेछापले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘रामचन्द्र खड्का जिताऔँ’ अभियान औपचारिक रूपमा सुरु गरेको छ। पार्टीले जिल्लाकै अग्रज, निष्ठावान् र स्वच्छ छविका नेता रामचन्द्र खड्कालाई उम्मेद्वारका रूपमा अघि सारेसँगै संगठनलाई चुनावी मोडमा प्रवेश गराएको हो।
शनिबार मन्थलीस्थित भैँसेश्वरमा रहेको पार्टी कार्यालय बिपी स्मृति भवनबाट अभियानको औपचारिक घोषणा गरिएको हो। कार्यवाहक सभापति नवराज थोकरको अध्यक्षता र निवर्तमान सभापति लवश्री न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न विस्तारित बैठकमार्फत काँग्रेसले अब चुनावी गतिविधि तीव्र पार्ने उद्घोष गरेको छ।
बैठकमा बोल्दै पार्टी सचिव दीपक खड्काले पार्टीका ६४ वटै वडाका कार्यकर्तालाई स्पष्ट निर्देशन दिँदै अबदेखि ‘रामचन्द्र खड्का जिताऔँ’ अभियानमै केन्द्रित हुन आग्रह गरे। आन्तरिक असन्तुष्टिहरूलाई परै राखेर रुख चिन्हका उम्मेद्वारलाई जिताउनुको विकल्प नरहेको उल्लेख गर्दै उनले जनताका समस्या, गुनासा सुन्ने र समाधानका प्रतिबद्धतासहित मतमा परिणत गर्न संगठन परिचालन गर्नुपर्ने धारणा राखे।
महाधिवेशन प्रतिनिधि तथा अग्रज नेता धुव्र ढुङ्गेलले अन्य दलका उम्मेद्वार गाउँ–गाउँमा सक्रिय देखिए पनि काँग्रेस ढिलो देखिनु हारको संकेत नभएको बताए। ‘घोडा दौडिएको र हात्ती लम्किएको मिल्दैन,’ उनले भने, ‘घोडा छिटो दौडिए पनि अन्ततः हात्ती नै जित्छ।’ काँग्रेसका उम्मेद्वार नआत्तिई योजनाबद्ध रूपमा मतदातामाझ पुग्नुपर्ने उनको जोड थियो। लोकतन्त्र, संविधानको रक्षा र नयाँ पुस्ताका माग सम्बोधन गर्ने स्पष्ट एजेन्डासहित अघि बढेमा जित सुनिश्चित हुने उनको दाबी थियो।
पार्टीका प्रमुख राजनीतिक सल्लाहकार कृष्णबहादुर महतले यो चरणमा काँग्रेस एकढिक्का भइसकेको उल्लेख गर्दै उम्मेद्वारको जितका लागि आफूले जस्तोसुकै भूमिका निर्वाह गर्न तयार रहेको प्रतिबद्धता जनाए। पार्टीभित्र रहेका असमझदारी मिलाउन पुलको भूमिका खेल्ने र त्यसैमार्फत विजय हासिल गर्न सकिने उनले बताए।
त्यस्तै, क्षेत्र नं. १ का क्षेत्रीय सभापति निरोज खड्काले पनि पार्टीका उम्मेद्वारलाई विजयी गराउन सम्पूर्ण शक्ति परिचालन गर्ने जिकिर गरे। ‘निष्ठावान् र सबैले चिनेको उम्मेद्वारलाई विजयी घोषणा गर्न मात्रै बाँकी छ,’ उनले भने।
बिपी स्मृति भवनको खुला आँगनमा सम्पन्न छलफलमा सहभागी अधिकांश नेताहरूले काँग्रेस ढिलो देखिए पनि निर्णायक र योजनाबद्ध रूपमा अघि बढिरहेको धारणा राखे। संगठनको तल्लो तहसम्म जिम्मेवारी बाँडफाँड भइसकेको र अब गाउँ–गाउँमा घरदैलो, मतदाता भेटघाट तथा प्रचार–प्रसारलाई तीव्र बनाइने पार्टी सचिव विनोद कार्कीले जानकारी दिए।
बैठकले १७ वर्षदेखि पार्टी नेतृत्व सम्हाल्दै आएका अनुभवी नेता रामचन्द्र खड्कालाई उम्मेद्वार बनाउनु पार्टीका लागि गौरवको विषय भएको निष्कर्ष निकालेको छ। लामो राजनीतिक जीवनमा कुनै किसिमको आरोप नलागेको, आदर्श र निष्ठाको राजनीति गरेको भन्दै खड्कालाई काँग्रेसका सर्वस्वीकार्य उम्मेद्वारका रूपमा अघि सारिएको नेताहरूको भनाइ छ।
काँग्रेस नेताहरूले खड्काको स्वच्छ छवि, संगठनमाथिको पकड र जनतासँगको निरन्तर सम्बन्ध नै पार्टीको जितको मुख्य आधार रहेको दाबी गरेका छन्। ढिलो सुरु भएको अभियान भए पनि परिणाम काँग्रेसकै पक्षमा आउने विश्वास उनीहरूले व्यक्त गरेका छन्।
नेपाली काँग्रेस रामेछापले अब गाउँ–गाउँमा चुनावी गतिविधि सशक्त रूपमा सञ्चालन गर्ने जनाएको छ। आइतबार बिहान पार्टी कार्यालयमा थप रणनीति तय गर्ने र त्यही दिन उम्मेद्वार खड्काले रामेछाप नगरपालिकाबाट विशेष पूजाआजासहित घरदैलो तथा मतदाता भेटघाट अभियान सुरु गर्ने तयारी रहेको उनको निजी सचिवालयले जनाएको छ।









