रामेछाप, — प्रतिनिधि सभा सदस्यका उम्मेद्वार रामचन्द्र खड्काले ठूला आमसभाभन्दा घरघर पुग्ने अभियानलाई प्राथमिकता दिँदै संयमित, शिष्ट र धैर्यताका साथ निर्वाचनमा जाने बताएका छन् । पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा उनले फर्जी आश्वासन र गलत प्रभाव पार्ने राजनीतिक अभ्यास अस्वीकार गर्दै जनताको मन जित्ने अभियानमा कांग्रेस लागेको स्पष्ट गरे ।खड्काले लोकतन्त्र र संविधान जोगाउन वर्तमान जटिल परिस्थितिमा नेपाली कांग्रेसले नै नेतृत्व लिनुपर्ने आवश्यकता औँल्याए । पार्टी नेतृत्वको निर्देशनअनुसार साना–साना कर्नर मिटिङ, घरदैलो कार्यक्रम र प्रत्यक्ष संवादमार्फत जनतासँग जोडिने रणनीति अपनाइएको उनको भनाइ थियो ।
रामेछाप विकासका प्राथमिक एजेन्डाबारे बोल्दै उनले ‘प्रत्येक घरमा एक धारा’ नाराअन्तर्गत सुरक्षित खानेपानी पुर्याउने कार्ययोजना अघि बढाइएको जानकारी दिए । सडक पूर्वाधारतर्फ पाँच वर्षभित्र गाउँपालिका केन्द्रदेखि जिल्ला सदरमुकाम र काठमाडौँ जोड्ने मुख्य सडकलाई व्यवस्थित, पिच तथा ढलान गर्ने लक्ष्य रहेको उनले बताए ।खड्काले विदेश पलायन भएका युवालाई गाउँ फर्काउने उद्देश्यले सामूहिक खेती, आधुनिक कृषि प्रणाली र पशुपालनलाई प्राथमिकतामा राख्ने नीति लिइने बताए । उत्पादन भएको दूध, तरकारी र कृषि उपजको बजारीकरणमा देखिएको समस्यालाई समाधान गर्न बिचौलियाको नियन्त्रण घटाई सरकारी संरक्षणमा वितरण प्रणाली विकास गरिने उल्लेख गरे ।कृषि क्षेत्रमा वास्तविक किसानलाई लक्षित सब्सिडी आवश्यक रहेको उल्लेख गर्दै उनले काम नगर्ने नामधारीभन्दा श्रम गर्ने किसानले प्रत्यक्ष लाभ पाउने व्यवस्था गर्नुपर्ने धारणा राखे । साथै रामेछापको प्राकृतिक सौन्दर्यलाई उपयोग गर्दै पर्यटन विकासमार्फत रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।









