रामेछाप, १९ माघ । नेपाली काँग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्काको चुनावी घरदैलो अभियान आजदेखि खाँडादेवी गाउँपालिका वडा नं. ३ सित्खाबाट औपचारिक रूपमा शुरू भएको छ।
आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई लक्षित गर्दै शुरू गरिएको घरदैलो अभियानमा उम्मेदवार खड्काले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै नेपाली काँग्रेसको नीति, कार्यक्रम र प्रतिबद्धता प्रस्तुत गर्नुभएको छ। उहाँले विगतमा भएका विकासका कामको समीक्षा गर्दै आगामी दिनमा सुशासन, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
घरदैलो कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सो अवसरमा स्थानीय मतदाताले विकास, सुशासन र स्थायित्वका लागि नेपाली काँग्रेसको विकल्प नभएको प्रतिक्रिया दिएका छन्।
लोकतन्त्र, समावेशी विकास र जनताको अधिकार संरक्षणका लागि नेपाली काँग्रेसले निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै उम्मेदवार खड्काले जनताको विश्वास र समर्थनका आधारमा निर्वाचनमा विजय सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो।









