चितवन ः नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागमती प्रदेशका सल्लाकार तथा सङ्घीय समितिका निवर्तमान केन्द्रीय सदस्य राजु चौधरी लगायत पत्रकारहरूलाई सञ्चार गृहमा प्रवेश गरी गैँडाकोटमा रहेको अक्सफोर्ड कलेजले खुल्ला धम्की दिएको प्रति फोनिज सङ्घीय समिति, प्रदेश समिति र जिल्ला समितिले भर्त्सना गरेको छ ।
गैँडाकोटमा रहेको अक्सफोर्ड कलेजका प्रिन्सिपल हरि भण्डारीका छोरा रोहन सहितका युवाहरूले समाचार लेखेका विषयमा भदौ ४ गते चितवनका सञ्चार माध्यमहरूमा प्रवेश गरी धम्की दिएको घटनाप्रति फोनिजले उक्त घट्नाको भर्त्सना गरेको हो
प्रकाशित समाचारप्रति कसैको चित्त नबुझेको खण्डमा कानुनी उपचारको बाटो खुला हुँदाहुँदै गुण्डागर्दीको शैलीमा सञ्चार गृहमै प्रवेश गरी पत्रकार तथा सञ्चारकर्मीमाथि कुटपिटको प्रयास गर्नुले समग्र प्रेस स्वतन्त्रता माथिको आक्रमण र ठाडो हस्तक्षेप भएको फोनिजले ठहर गरेको छ ।
मङ्गलवार सङ्घीय सचिव समीर बलामी, बागमती प्रदेशका महासचिव श्याम राना मगर र जिल्ला अध्यक्ष रमेश राना मगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘घटनामा संलग्न सबैलाई तत्काल पहिचान गरी कारवाहीको दायरामा ल्याउन फोनिज जोडदार माग गर्दछ ।’ कुनै पनि बहानामा पत्रकारमाथि दुर्व्यवहार गर्नु र धम्की दिनु प्रेस विरोधी काम भएको विज्ञप्तिमा जनाइएको छ ।
यस्तो खाले प्रेस विरोधी कार्यको अन्त्य गर्न पनि फोनिजले माग गरेको छ । सञ्चार गृहमै प्रवेश गरी हातपातको प्रयास गर्नुले पत्रकारहरू असुरक्षित भएको महसुस गरेको भन्दै स्थानीय प्रशासन सँग सुरक्षाको समेत माग गरिएको छ ।