काठमाण्डौं ः बाढी पहिरोको कारण ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहलेमा घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् । पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रोज्ज्वल बेपत्ता छन् ।
यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता भएको ताप्लेजुङ प्रहरीले जनाएको छ। खोला छेउमा घर भएका तामाङले ठुलो वर्षा भएपछि बुवा आमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएका बताइएको छ ।
घटना क्षेत्रमा साब्लाखु प्रहरी चौकीबाट प्रहरीको टोली गइरहेको सिदिङ्वा गाउँपालिका उपप्रमुख बन्दना कडरियाले जानकारी दिइन्। मेहेलेका राजकुमार गौतमको एउटा घर बगेको छ भने अर्को घर जोखिममा छ। यस्तै देउकुमार लिङ्देन र गुमान राईको घर जोखिममा परेको छ भने मेहेले स्वास्थ्य चौकीको भवन पूर्ण रूपमा पहिरोले बगाएको छ ।
अहिले पनि निरन्तर वर्षा भइरहेकाले सिरी जङ्घा र सिदिङ्वा गाउँपालिकाका अधिकांश नागरिक त्रसित छन्। यस्तैअबिरल वर्षासँगै आएको बाढीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित आङ खोपमा तीन घर बगाएको छ । गए राति इङ्वाखोलामा आएको बाढीले प्रेम सिलिङ, महेश्वर सिलिङ र गणेश रेलिङको घर बगाएको स्थानीय शिक्षक चैतन्य बुढाथोकीले जानकारी दिए।