चीन बाट अनुदानमा दिएको सिलिन्डरमा आफ्नो फोटो टाँसे पछी वनमन्त्रीको आलोचना

काठमाडौँ । चीन सरकारबाट अनुदानमा दिएको अक्सिजन सिलिण्डरमा आफ्नो व्यक्तिगत सहयोगबाट भनेर तस्वीर सहित स्टिकर टाँसेर बाँडेपछि वनमन्त्री प्रेमबहादुर आलेको चर्को आलोचना भएको छ ।
अक्सिजन सिलिण्डर तथा स्वास्थ्य समग्रीका प्याकेटमा मन्त्री आलेले आफ्नो व्यक्तिगत सहयोगबाट भनेर तस्वीरसहित स्टिकर टाँसेर बाँडेपछि उनको चर्को आलोचना भएको हो ।
वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले सामाजिक सञ्जालमा भाइरल भएका छन् । चीन सरकारबाट अनुदानमा आएका अक्सिजन सिलिण्डर तथा स्वास्थ्य समग्रीका प्याकेटमा मन्त्री आलेले आफ्नो व्यक्तिगत सहयोगबाट भनेर तस्वीरसहित स्टिकर टाँसेर बाँडेपछि उनी भाइरल भएका हुन् ।
मन्त्री आले ती सामग्री बाँड्न हेलिकोप्टर मार्फत गृहजिल्ला डोटी र त्यहाँबाट धनगढी पुगेका छन् । जिल्ला अस्पताल डोटीमा र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ती सामग्री बाँडेका हुन् । मन्त्रीबाट ढिलै भए पनि सहयोग उपलब्ध हुनु स्वागतयोग्य काम भए पनि यसरी विपदका बेला आफ्नो प्रचार राजनीति गर्नु निकृष्ट काम रहेको भन्दै उनको चर्को आलोचना भइरहेको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले उनको तस्वीअंकित सिलिन्डरका फोटोहरु शेयर गर्दै आलोचना र गाली गरिरहेका हुन् ।

स्रोतका अनुसार चीनबाट अनुदान आएका सिलिन्डर र स्वास्थ्य सामग्री स्वास्थ्य सेवा विभागमार्फत मन्त्री आलेले ती अस्पतालका लागि भनेर लिएका थिए । तर केही सिलिन्डर भने आफ्नै व्यक्तिगत खर्चमा किनिएको मन्त्री आलेले बताएका छन् । तर उनले सबै सिलिन्डर तथा औषधिका प्याकेटमा ‘नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ भनेर बाँडेका छन् ।

मन्त्री आलेले १५ वटा सिलिन्डर स्वास्थ्य विभागले दिएको र बाँकी चीनबाट मगाएर सेवा गरेको बताएका छन् । तर कतिपयले सरकारकै बजेटबाट ती सामग्री किनिएको हुनसक्ने र मन्त्रीले सस्तो लोकप्रियताका लागि आफ्नो व्यक्तिगत भन्दै प्रचार गरेको टिप्पणी गरेका छन् । यी सामग्री कसको रकमबाट किनिएका हुन् भन्ने ठोस आधार भने सार्वजनिक गरिएको छैन ।

उनले ७५ सिलिन्डर गृहजिल्ला डोटीमा र ५० वटा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा प्रदान गरेको बताएका छन् । यसका साथै सेनिटाइजर, मास्क, औषधी लगायत सामग्री पनि वितरण गरेको जनाइएको छ ।

तर विपदमा राजनीतिक अभिष्टका लागि यसरी प्रचार गरिनु गलत मानिन्छ । यसरी कामभन्दा प्रचार बढी गरेको भन्दै उनको आलोचना भइरहेको छ । वेलावेला विवादमा आइरहने मन्त्री आले यसअघि ‘रूखले हामीलाइ कार्बनडाइअक्साइड दिन्छ र हामीबाट अक्जिजन लिन्छ’ भनेपछि यसैगरी भाइरल भएका थिए ।

Facebook Comments Box