हेटौँडा । नेपाली भाषा, नेपाल भाषा र तामाङ भाषामा बागमती प्रदेश अन्तर्गतका सरकारी कार्यालयले साइन बोर्ड राख्न पर्ने भएको छ । बुधवार बसेको प्रदेश मन्त्री परिषद्को बैठकले नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड राख्नु पर्ने निर्णय गरेको छ ।
आजको बैठकले २४ वैशाखमा सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिएका छन् ।
काठमाडौँको वसन्तपुरबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने भएकाले २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय समेत गरिएको छ । २४ वैशाखपछि प्रदेशभरका सरकारी कार्यालयको साइन बोर्डमा नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषा प्रयोग गर्नुपर्नेछ ।