काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको जित सुनिश्चिततर्फ अघि बढेको दाबी गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा विभिन्न दल परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरूलाई स्वागत गर्दै उनले पछिल्लो समय देशभर कांग्रेसका पक्षमा जनमत तीव्र रूपमा बढिरहेको बताए।
उपसभापति शर्माका अनुसार हालको राजनीतिक वातावरण कांग्रेसका लागि अनुकूल बन्दै गएको छ। “अहिलेकै गति कायम रह्यो भने कांग्रेस प्रतिनिधिसभा निर्वाचनमा निर्णायक शक्ति बन्नेछ,” उनले भने, “देशभरको माहोल हेर्दा कांग्रेस जिततर्फ स्पष्ट रूपमा अगाडि बढिसकेको छ।” उनले निर्वाचन नजिकिँदै जाँदा पार्टीप्रतिको आकर्षण झन् बढ्दै गएको दाबी पनि गरे।
उनले पछिल्लो समय कांग्रेसमा देखिएको आन्तरिक परिवर्तनलाई जनताले सकारात्मक रूपमा लिएको बताए। जेनजी आन्दोलनपछि कांग्रेस नयाँ सोच, नयाँ ऊर्जा र नयाँ कार्यशैलीसहित अघि बढेको उनको भनाइ थियो। “परिवर्तन चाहनेहरूका लागि परिवर्तन गरिसकेको पार्टी कांग्रेस हो,” उनले स्पष्ट पारे, “आफूलाई बदल्न नसक्नेले देश बदल्छु भन्नु अर्थहीन हुन्छ, कांग्रेसले आफूलाई बदलेको छ, त्यसैले जनताको भरोसा बढ्दै गएको हो।”
उपसभापति शर्माले कांग्रेस बदलिएपछि पार्टीमा समाहित हुनेहरूको संख्या उल्लेखनीय रूपमा बढेको बताए। विभिन्न राजनीतिक दल तथा समूहबाट निराश बनेका नेता–कार्यकर्ताहरू कांग्रेसलाई भरोसायोग्य विकल्पका रूपमा हेर्न थालेको उनको दाबी छ। यसले संगठन थप बलियो बनेको र निर्वाचनमा सकारात्मक प्रभाव पर्ने उनले बताए।
फागुन २१ को निर्वाचनलाई निर्णायक मोडको रूपमा व्याख्या गर्दै उपसभापति शर्माले कांग्रेसका सम्पूर्ण नेता–कार्यकर्ता एकढिक्का भएर मैदानमा उत्रिएको उल्लेख गरे। “यो चुनाव केवल सिटको प्रतिस्पर्धा होइन, देशको भविष्यको दिशासँग जोडिएको छ,” उनले भने, “त्यसैले कांग्रेसका सबै तहका नेता–कार्यकर्ता जिम्मेवारीबोधका साथ जनतामाझ पुगेका छन्।”
उनका अनुसार कांग्रेसले विकास, सुशासन र लोकतान्त्रिक मूल्य–मान्यतालाई केन्द्रमा राखेर निर्वाचन अभियान अघि बढाइरहेको छ। जनताको दैनिक जीवनसँग जोडिएका मुद्दालाई प्राथमिकतामा राख्दै स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएकाले मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको उनले बताए।
उपसभापति शर्माले अन्त्यमा कांग्रेसमाथि जनताको भरोसा पुनःस्थापित हुँदै गएको उल्लेख गर्दै यही विश्वास नै निर्वाचन जितको मुख्य आधार बन्ने विश्वास व्यक्त गरे। “जनताको विश्वास जित्न सकियो भने जित सुनिश्चित हुन्छ,” उनले भने, “कांग्रेस अहिले त्यही बाटोमा छ।”









