दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो क्षति पुगेको छ। नदी केहीबेर थुनिए पनि अहिले भने बहाव खुलेको गाउँपालिकाले जनाएको छ । तर, पहिरो झर्ने क्रम नरोकिएकाले भट्टार बस्ती अझै जोखिममा रहेको बताइएको छ ।
अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार जोखिममा रहेका १० परिवारलाई आफन्तको घरमा सुरक्षित रूपमा सारिएको छ। उनीहरूलाई आवश्यक टेन्टलगायतका सामग्रीसमेत उपलब्ध गराइएको उनले जानकारी दिए ।
पहिरोले पर्यटकीय पदमार्गमा समेत ठूलो क्षति पुर्याएको अध्यक्ष बोहराले बताए । पहिरो निरन्तर झरिरहेकाले स्थानीयवासीलाई थप सतर्क रहन आग्रह गरिएको छ ।
चौलानी नदीको बहाव पहिरोका कारण प्रभावित भएपछि नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले नदीको बहाव प्रभावित भएकाले नदी किनारमा रहेका बस्तीका नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको बताए ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी गर्दै चौलानी नदीमा बाढीको जोखिम रहेकाले तटीय क्षेत्रमा नजान तथा सम्भावित जोखिमप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
पहिरोका कारण सडक, पदमार्ग तथा नदीको बहावमा परेको प्रभावको अवस्था निरन्तर अनुगमन भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।










