विराटनगर — कोशी प्रदेशमा चर्चाको केन्द्रबिन्दु बनेको ‘आम सञ्चार विधेयक’ तत्काल पारित नहुने भएको छ। पत्रकार महासंघलगायत विभिन्न संघसंस्थाले विधेयकमा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रावधान रहेको भन्दै तीव्र विरोध जनाइरहेका बेला मुख्यमन्त्री हिक्मतकुमार कार्कीले थप छलफलपछि मात्र अघि बढ्ने स्पष्ट संकेत दिएका हुन्।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशका पदाधिकारीसँग मंगलबार भएको भेटमा मुख्यमन्त्री कार्कीले पत्रकारहरूको मागलाई सकारात्मक रूपमा लिँदै भने, “संसद्मा प्रस्तुत भइसकेको विधेयक अब सरकारको मात्र होइन, सरोकारवाला सबै पक्षसँग गम्भीर छलफल गरेर अघि बढाउनुपर्छ।”
उनले प्रेस स्वतन्त्रता र संविधानले प्रत्याभूत गरेका अधिकारको रक्षा गर्ने सरकारको दृढ प्रतिबद्धता दोहोर्याउँदै, पत्रकारितालाई व्यवस्थित र सशक्त बनाउन कानुन आवश्यक भए पनि सरोकारवालाको चासो सम्बोधन नगरी अघि बढ्ने सोच नभएको प्रस्ट पारे।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का र महासचिव हिमाकुमारी चेम्जोङले पत्रकारहरूको मागबारे विस्तृत धारणा राख्दै, प्रेस स्वतन्त्रता सुरक्षित गर्न र नागरिकको सूचना पाउने अधिकार सुनिश्चित गर्न सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिए।
यसअघि न्याय, प्रशासन तथा विधायन समितिबाट पारित भई प्रदेशसभामा प्रस्तुत भएको विधेयक सार्वजनिक भएलगत्तै पत्रकार महासंघ, कानुन व्यवसायी र मानवअधिकारकर्मीहरूले यसलाई प्रेस स्वतन्त्रतामाथि प्रहार भन्दै विरोध जनाएका थिए। महासंघले भदौ ९ देखि १३ सम्म चरणबद्ध आन्दोलन कार्यक्रमसमेत घोषणा गरिसकेको छ।