काठमाडौं । मुग्लिन–नारायणगढ सडकको सिमलतालमा आज बिहान ३ः३० बजे गएको पहिरोमा परेका ३ जना बस बाट हामफालेर ज्यान जोगाउन् सफल भएका छन् । अन्य ६२ जना यात्रु भने अझै बेपत्ता अवस्थामा रहेका छन् । मुग्लिन–नारायणगढ सडकको सिमलतालमा दुईवटा बस त्रिशूली नदीमा खसेको थियो ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दिएको जानकारी अनुसार पहिरोमा परेर बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौरतर्फ गइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेको अनुमान गरिएको बताएा छन् ।
सोही दुर्घटनामा तीनजना यात्रु हाम फालेर बाँचेको चितवन प्रहरीले जनाएको छ । एउटा बसको केही भागमात्र देखिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए । उनका अनुसार दुईवटा बस बगेको भनिए पनि अर्को बसको केही पत्तो लागेको छैन । काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्सबाट हाम फालेका तीन यात्रु भने सकुशल रहेको डीएसपी रिजालले जानकारी दिए । अहिले दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित गोताखोरको टोली खटिएको छ । उद्धारको प्रयास जारी रहेको प्रहरीले जनाएको छ । दुवै बसमा जम्मा ६५ यात्रु रहेको बताइएको छ । त्यसमध्ये तीनजना हाम फालेर बाँचेका छन् भने बाँकी ६२ यात्रुको अवस्था अज्ञात रहेको छ ।