काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले सङ्घीय संसद्का महासचिवलाई पत्र लेखेर २८ गतेको संसद् बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् ।
संसद्का दुई ठुला दल नेपाली काँग्रेस र एमालेबिच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । त्यो सहमतिअनुसार एमालेले बुधवार मन्त्रीहरूलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो । संविधानतः सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ, जबकि अहिलेसम्म प्रचण्डसँग माओवादी (३२), रास्वपा (२१), एकीकृत समाजवादी (१०) र अशोक राई नेतृत्वको जसपा (७) को गरेर ७९ मत मात्र छ । उनको विपक्षमा नयाँ सरकार गठन गर्ने सहमति गरिसकेका काँग्रेस (८८) र एमाले (७९) गरी १६७ मत देखिन्छ ।