रामेछाप । संसद विघटनको बिरोधमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछाले जिल्लाको दुई स्थानमा एकैसाथ प्रर्दशन र बिरोध सभाको आयोजना गरेको छ ।
नेपाली काँग्रेसले शनिवार निर्वाचन क्षेत्र (क) को मन्थली नगरपालिकाको वडा नं–३ कठजोरको ठाँटी र निर्वाचन क्षेत्र (ख) को मन्थली नगरपालिकाको वडा नं–७ भटौलीमा प्रर्दशन सँगै बिरोध सभाको आयोजना गरेको हो । प्रर्दशन सँगै गरिएको बिरोध कार्यक्रममा निर्वाचन क्षेत्र (क) मा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति रामचन्द्र खड्का र निर्वाचन क्षेत्र (ख) मा नेपाली काँग्रेसका जिल्ला सभापति लवश्री न्यौपाने लगाएतका नेताहरुले सम्बोधन गरेका थिए ।
बिरोध कार्यक्रममा अहिलेको नेकपाको सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता र अराजकता तर्फ लगेकाले नेपाली काँग्रेसले एकैसाथ देशभर चरणबद्ध आन्दोलनको कार्यक्रम लिएर अघि वढेको नेपाली काँग्रेसका जिल्ला सभापति लवश्री न्यौपानेले बताए ।
त्यसैगरी विरोध कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका पूर्व सभापति रामचन्द्र खड्काले भने अहिलेको केपी ओली नेतृत्वको वर्तमान सरकारको निरंकुश, सर्वसत्त्तावादी र अधिनायकवादी चरित्रका कारण संसद विघटन गरेको भन्दै यसको विरुद्धमा सशक्त ढङ्गले कडा भन्दा कडा सघर्षका कार्यक्रम लिएर अघि वढ्ने बताए ।
बिरोध सभामा बोल्ने अन्य नेपाली काँग्रेसका नेताहरुले वर्तमान सरकारका प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरे असंवैधानिक कदम गरेको भन्दै यसको विरुद्धमा कार्यकर्ताहरुलाई सशक्त भएर आन्दोलनमा लाग्न आग्रह गरे । काँग्रेसले गरेको दुवै स्थानको बिरोध कार्यक्रममा नेकपाको सरकारले गरेको संसद विघटनको बिरुद्धमा विभिन्न नारा लगाएर विरोध जनाएका थिए । दुवै कार्यक्रममा नेपाली काँग्रेसमा आस्था राख्ने सयौंको संख्यामा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।