काठमाडौँ । नेपालमा विदेशी पर्यटक एक महिनाको अवधिमा १ लाख २८ हजार १ सय ६७ भित्रिएको छ । मार्च महिनामा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव ९ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले बताएको छ । गत वर्षको मार्चमा कुल ९९ हजार ४ सय २६ विदेशी पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको सोही अवधिमा २८ हजार सात सय ४१ ले वृद्धि भएको छ । यस वर्ष मार्चमा १ लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले उल्लेख गरेको छ ।
मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् । भारतबाट सो अवधिमा ३० हजार छ सय ९८ पर्यटक नेपाल आएका छन् । त्यस्तै गरी चिनियाँ पर्यटक १२ हजार ९३ भित्रिएको छ । बोर्डका अनुसार मार्चमा अमेरिकाबाट १० हजार सात सय ७३, बेलायतबाट ७ हजार २ सय ४१ जना, श्रीलङ्काबाट पाँच हजार सात सय ४१, जर्मनीबाट ५ हजार २ सय ५५, थाइल्याण्डबाट ४ हजार ३ सय ४५, फ्रान्सबाट ३ हजार दुई सय ४० र म्यानमारबाट ३ हजार १ सय ३१ जना विदेशी पर्यटक नेपाल आएका छन् ।
क्षेत्रीय हिसाबले हेर्दा एसिया (सार्क)बाट ४० हजार सात सय २७, एसिया (अन्य)बाट २८ हजार छ सय ४८, यू्रोपबाट २७ हजार पाँच सय ८२, ओसनियाबाट चार हजार सात सय ८० र क्यानडा र अमेरिकाबाट १२ हजार छ सय १४ जना पर्यटक नेपाल आएका छन् ।
यस वर्षको जनवरीमा ७९ हजार एक सय र फेब्रुअरीमा ९७ हजार चार सय २६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२३ को पहिलो तीन महिनामा दुई लाख २७ हजार सात सय ५५ जना विदेशी पर्यटक नेपाल भित्रिएकोमो सन् २०२४ को पहिलो तीन महिनामा तीन लाख चार हजार छ सय ९३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जुन ३३ दशमलव ७८ प्रतिशतले बढी हो ।