रामेछाप–२९ मंसिर ।
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछापले गएको मंसिर २६ गते गोकुलगंगा गाउँपालिकाबा स्वाब संकलन गरि परिक्षणको लागि पठाइएका २५ जनाको स्वाब मध्ये गोकुलगंगा पालिकामा कार्यरत एक ४६ वर्षिय स्वास्थ्य कर्मीमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ३ जना पुगेको छ ।
कोरोना संक्रमित मध्ये हालसम्म १ सय ९४ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । त्यस मध्ये सक्रिय सक्रमित ९ जनाको हाल आइसोलेसनमा राखेर उपचार भइरहेको छ । जिल्लामा हालसम्म ४ सय ४५ जनाको स्वाब परिक्षण गरिएकोमा २ सय ४२ जनाको रिर्पोट नेगेटिभ आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछापले दिएको विवरण अनुसार मन्थली नगरपालिकामा १ सय १ जना, रामेछाप नगरपालिकामा २८ जना, गोकुलगंगा गाउँपालिकामा २७ जना, लिखुतामाकोशी गाउँपालिकामा २० जना, सुनापति गाउँपालिकामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी उमाकुण्ड गाउँपालिकामा २ जना, खाँडादेवी गाउँपालिकामा ३ जना, दोरम्वा गाउँपालिकामा ३ जना र जिल्ला अस्पताल रामेछापमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए ।
उनका अनुसार– रामेछाप स्थायी घर भई रोजगारीको सिलसिलामा विभिन्न स्थानमा बसोवास गर्दै आएका महिला ८७ जना र पुरुष २ सय ६ जना गरी २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि स्वास्थ्य कार्यालयले जनाएको छ ।