रामेछाप । जिल्ला अस्पताल रामेछापका डा.रोशन ग्वाछा र स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्रकुमार कर्णले बुधवार पहिलो चरणको खोप लगाएर खोपको शुरुवात गरेका छन् ।
कोरोना विरुद्धको खोपका बिषयमा धेरै स्थानमा असुरक्षित रहेको भन्दै बिभिन्न आशंका र अड्कल बाजी गर्दै नकारात्मक टिकाटिप्पण्ी गरेको सुनिएकाले त्यसको आशंकालाई चिर्न पहिलो चरणको खोप आफुहरुले लगाएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्रकुमार कर्णले जानकारी दिए ।
उनले भने– कोरोना विरुद्धको खोपमा कुनै पनि नागरिकले शंका मान्नु पर्ने ठाउँ नै छैन् । खोप अत्यन्तै भरपर्दो र सुरक्षित छ, त्यसैले सबै नागरिकहरुलाई खोप सुरक्षित छ भन्ने सन्देश दिन पहिलो चरणमा जिल्ला अस्पतालका डा.ग्वाछा र आफुले लगाएर मात्रै अन्य स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई लगाएको डा.कर्णले बताए ।
रामेछापमा पहिलो चरणमा कोरोना बिरुद्धको खोप लगाउन १ हजार ४ सय ७७ जनाले नाम दर्ता गराएका छन् । जिल्ला अस्पताल रामेछापले पहिलो चरणको खोपमा स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वंयसेवक, फोहोर मैला व्यवस्थापनमा खटिने व्यक्तिहरु, स्वास्थ्य स्वंयसेविका, बृद्धाश्रमका व्यक्ति र उनीहरुको हेरचाहमा खटिने व्यक्तिहरुलाई दिइने छ । त्यसैगरी पहिलो चरणमा नै जिल्ला कारागार कार्यालय रामेछापमा रहेका कैदीबन्दीहरु र सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई पनि खोप लगाइने छ ।
जिल्ला अस्पताल रामेछापले कोरोना विरुद्धको खोप लगाउनेको नामावली संकलन गरि त्यही अनुसार खोप लगाउन शुरुवात गरिएको जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रिनले जानकारी दिए । उनले भने– पहिलो चरणको खोप अन्तर्गत अस्पतालका डाक्टरहरुवाट लगाउन शुरुवात गरिएको खोप निरन्तर चलिरहने बताए ।
आज काठमाण्डौं उपत्यका सहित देशभर १ सय २० वटा केन्द्रवाट कोरोना विरुद्धको खोप एकै दिन लगाउन शुरुवात गरिएको हो । छिमेकी मुलुक भारत सरकारले अनुदान स्वरुप नेपाल सरकारलाई १० लाख मात्रा खोप सहयोग गरेको थियो । पहिलो चरणको यो खोप अभियानमा ४ लाख ३० हजार नेपालीलाई खोप लगाइने र खोप अभियान दशदिनसम्म निरन्तर रहेन जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।