रामेछाप । बुधबार बाट जिल्ला सदरमुकाम मन्थली बाट चरिकोट हुदैँ काठमाडौँ सम्म यातायात सञ्चालनमा आउने भएको छ । तिन दिन परेको अविरल वर्षासँगै तामाकोशीमा आएको बाढीले यो सडक खण्ड अन्तरगत दोलखाको किर्नेमा अन्दाजी ४०० मिटर सडक पूर्ण रूपमा कटान गरेको छ । जसका कारण यो सडक पूर्ण रूपमा बन्द भएको छ । मङ्गलवार रामेछापका प्रतिनिधि सभा सदस्य तथा उर्जा जलस्रोत राज्य मन्त्री पुर्ण बहादुर तामाङ्गको नेतृत्वमा बसेको रामेछाप र दोलखा जिल्लाका सरोकारवाला बिचको बैठकमा हाइड्रोपावर क्षेत्रबाट वैकल्पिक रूपमा वाईपास सडक खुलाउने सहमती भएको जानकारी प्राप्त भएको छ ।
सहमती भए संगै आज दिउसो देखी मन्थली–चरिकोट–काठमाडौँ वाईपास सडक सञ्चालनमा आउने छ । गत बिहीबार, शुक्रवार र शनिवार परेको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण सबै क्षेत्रका सडक क्षति भएपछि रामेछापको राजधानी काठमाडौँसँग सम्बन्ध टुटेको छ । यो सडक राजधानी संग जोडिए संगै काठमाण्डौं संग रामेछापका नागरिक जोडिने छन् ।