रामेछाप– ७१ औँ प्रजातन्त्र दिवसरको अवसर पारेर मन्थली नगरपालिकाले मन्थलीमा तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु गरेको छ । नगरपालिकाले पालिका भित्रका २२ विद्यालयहरु सहभागी हुने गरी शुक्रबार देखि प्रतियोगिता शुरु गरेको हो ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख दिपा पाख्रिनले नगरपालिकाले विगत देखि नै आयोजना गर्दै आएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताले बालबालिकाको प्रतिभालाई प्रस्फुटन गर्ने एउटा राम्रो माध्यम भएको बताईन । उद्घाटन समारोहको प्रमुख आतिथि समेत रहेकी उपप्रमुख पाख्रिनले प्रतियोगितामा छात्रा सहभागिता बढी भएकोमा खुसी व्यक्त गर्दै पछिल्लो समय देशमा बढ्दै गएको महिला हिसां र बलत्कारका घटनालाई आफैले प्रतिरोध गरेर न्यूनिकरण गर्न समेत खेलकुदले सहयोग पुग्ने धाराण ब्यक्त गरिन ।
प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले नगरपालिका भित्रका विद्यालयहरुमा अध्ययनरत साँढे ११ हजार बालबालिकाको चौतर्फी विकासको लागि लक्षित गरी आयोजना गरिदै आएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताले खेलकुदको क्षेत्रसँगै समग्र विकासमा सहयोग पुग्ने बताएका छन् । नगर प्रमुख बस्नेतले खेलकुदकै माध्यमबाट पनि नगरपालिकालाई चिनाउन सकिने भएकाले सहभागी विद्यालयहरुले भविष्यमा अर्को पालिका वा अर्को जिल्लामा गएर समेत प्रर्दशन गर्दा राम्रो नतिजा निकाल्न सक्ने गरी अहिले नगरपालिका स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रतिभाहरु प्रस्तुत गर्न आग्रह गरेका छन् ।
त्यस्तै मन्थली नगरपालिकाका उपप्रमुख माया कुमारी कार्कीले खेलमा सहभागी हुने विद्यार्थीहरुलाई खेलका नियमहरुमा रहेर आफ्नो अनुशासनलाई पूर्ण रुपमा पालना गर्दै जिल्लाकै नमूना खेल हुने गरी खेल्न अनुरोध गरिन् ।
रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले प्रजातन्त्र स्थापनाको भएको २००७ साललाई सम्झादै त्यहि प्रजातन्त्रको कारण प्राप्त गरेका अधिकार संरक्षणमा गर्नको लागि पनि फगुन ७ गतेलाई मात्रै नभएर हरेक दिनलाई फागुन ७ गते सम्झानु पर्ने बताए । प्रजिअ शर्माले बालबालिका राष्ट्रको गहना हुन भन्ने उदहारण देखाउनको लागि नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताले बालबालिकाको खेलकुद विकासमा थप सहयोग पुग्ने धाराण व्यक्त गरे ।कार्यक्रममा मन्थली नगरपालिका वडा नं १ का वडाध्यक्ष नारायणदाश श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश कुमार श्रेष्ठ, मन्थली माविका प्रधानाध्यापक टंक प्रसाद दाहाल लगायतले आफ्नो धाराण राख्दै मन्थली नगरपालिकाद्धारा आयोजित प्रतियोगिताले नगरपालिका भित्र रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको खेलकुद विकासमा सहयोग पुग्ने बताए ।
तीन दिन सम्म चल्ने प्रतियोगितामा मन्थली नगरपालिका भित्रका २२ वटा विद्यालयहरुले सहभागिता जनाएका छन् । मार्च पास सहित सुरु भएको प्रतियोगिता फागुन ९ गते सम्पन्न हुनेछ । तीन दिन सम्म चल्ने प्रतियोगितामा ५० स्वर्ण, ५० रजत र ७० कास्य पदकको लागि प्रतिस्पर्धा हुने छ ।