रामेछाप । रामेछाप जिल्लाको मन्थलीमा सञ्चालित तिन वटा पेट्रोल पम्प मध्य २ वटा पेट्रोल पम्पमा उद्योग वाणिज्य कार्यालय रामेछापले सिल गरेको छ । स्वचालित मूल्य समायोजन हुने बित्तिकै मन्थलीमा सञ्चालित पेट्रोल पम्पहरूले पेट्रोल बिक्री वितरण नै ठप्प पार्दै सेवाग्राहीलाई सास्ती दिँदै आएको भन्ने खबर प्राप्त हुन बित्तिकै उद्योग वाणिज्य कार्यालय रामेछापले अनुगमन गरेको थियो ।
अनुगमनको क्रममा बसपार्कको निलकण्ठेश्वर आलय स्टोर्सले इन्धनको न्यूनतम मौज्दात नराखेको, पेट्रोल र डिजेलको डिस्पेन्सर बन्द गरेको, मन्थली नगरपालिका वडा नं १ भैशेश्वरमा सञ्चालित शुभ समृद्धि आलय स्टोर्स बन्द अवस्थामा भेटिएको कारण सिल गरिएको उद्योग वाणिज्य कार्यालयका प्रमुख सुबोध कुमार शाह कर्मयोगीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । उद्योग वाणिज्य कार्यालयका प्रमुख कर्मयोगीले जारी गरेको विज्ञप्तिमा शुभ समृद्धि आलय स्टोर्सलाई सिल मात्र गरिएको र निलकण्ठेश्वर र भैशेश्वरको शुभ समृद्धि आलय स्टोर्सलाई २ लाख ५० हजार जरिवाना सहित सिल गरिएको उल्लेख गरेको छ । मन्थलीको भैशेश्वरमा रहेको लक्ष्मी आलय स्टोर्स भने सञ्चालनमा रहेको उल्लेख गरेको छ ।
वाणिज्य कार्यालयका प्रमुख सुबोध कुमार शाह कर्मयोगीका अनुसार बसपार्कको निलकण्ठेश्वर आलय स्टोर्सले इन्धनको न्यूनतम मौज्दात नराखेको, पेट्रोल र डिजेलको डिस्पेन्सर बन्द गरेको भेटिएपछि प्रदेश व्यापार तथा व्यवसाय ऐन, २०७६ को दफा ६० को खण्ड (ज) बमोजिमको कसुर गरेको ठहर गर्दै सोही ऐनको दफा ६१ को उप–दफा (१) को खण्ड (घ) बमोजिम न्यूनतम रु २ लाख ५० हजार जरिवाना गरिएको बताइएको छ । साथै, उक्त आलय स्टोरलाई सात (७) दिन भित्र जिल्ला प्रशासन कार्यालय रामेछापमा आवश्यक कागजात सहित उपस्थित हुन निर्देशन समेत दिइएको छ । त्यस्तै भैशेश्वरमा सञ्चालित शुभ समृद्धि आलय स्टोर्स अनुगमनको क्रममा बन्द रहेको भेटिएपछि पम्महरुमा सिलबन्दी गरी गरिएको वाणिज्य कार्यालयले जनाएको हो । शुभ समृद्धि आलय स्टोर्स केही समय यता पारिवारिक समस्याको कारण बन्द रहेको सञ्चालक जीवन बुढाथोकीले बताउने गरेका छन् । पारिवारिक समस्याको कारण तेल ल्याउन नसक्दा सञ्चालन गर्न नसकिएको उनले बताएका छन् । शुभ समृद्धि आलय स्टोर्सलाई पनि ७ दिन भित्र जिल्ला प्रशासन कार्यालयमा आवश्यक कागजात सहित उपस्थित हुन निर्देशन गराइएको वाणिज्य कार्यालय रामेछापका प्रमुख शाहले बताए ।
वाणिज्य कार्यालय प्रमुख शाहका अनुसार मन्थली भैशेश्वरकै लक्ष्मी आलय स्टोर्समा भने स्थलगत निरीक्षण गर्दा डिजेल ५८०२ लिटर र पेट्रोल ११४५ लिटर मौज्दात रही निरन्तर सुचारु अवस्थामा भेटिएको थियो ।