रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापमा सेवा लिन आउने सेवाग्राहीको संख्यामा उल्लेख्य मात्रामा बृद्धि भएसँगै दैनिक भिडभाड बढेको छ ।
कोरोना महामारीको कारण लामो समयसम्म भएको लकडाउनले गर्दा सेवा लिन आउन नपाएका सेवाग्राहीहरु अहिले कोरोनाको जोखिम कम हुँदै गएपछि प्रशासनमा आउने सेवाग्राहीको संख्यामा उल्लेख्य मात्रामा बृद्धि भएको हो । प्रशासनमा अहिले नागरिकता, नाता प्रमाणित, संस्था दर्ता, संस्था नविकरण र राहादानी सिफारिस लगाएतका काम लिएर आउनेको संख्या निकै बढेको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकिय अधिकृत युवराज गुरागाईले जानकारी दिए ।
उनले भने– पहिलाको तुलनामा अहिले प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको संख्यामा निकै बृद्धि भएको छ । लामो समयसम्म कोरोनाको जोखिमको कारण टाढाबाट सेवा लिन आउन नसकेका नागरिकहरु अहिले आएका छन् । जसले गर्दा अहिले प्रशासनमा दैनिक ६० देखी १ सयवटासम्म नागरिकता बितरण गरिदै आएका छौं अधिकृत गुरागाईले बताए ।
जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको संख्या बृद्धि भएसँगै कार्यालयले कार्यालय समयपछि दैनिक बेलुका ६ वजेसम्म कार्यालय खोलेर भएपनि कार्यालयमा आउने सेवा सेवाग्राहीलाई सोही दिन सेवा दिएर पठाउने गरेको छ । प्रशासनमा अहिले नागरिकता वितरण बाहेक दैनिक ३० देखी ५० वटासम्म राहादानि सिफारिस समेत हुने गरेको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।