रामेछाप । ओखलढुंगा जिल्लामा रहेको लिखु गाउँपालिका–९ वाच्पुमा पर्ने पोकली झरनामा युवाहरुले मार्गनिर्देश बोर्ड राखेका छन् । नेपालकै चर्चित र दोश्रो अग्लो झरना ओखलढुंगाको पोकली झरना आउने पर्यटकको सहजताका लागि युवाहरुले मार्गनिर्देश बोर्ड राखेका हुन् ।
पर्यटकीय पोकली झरना जाने बाटोको मुख्य नाकाहरुमा पर्यटकको सहजताका लागि हिमचुली जनजागरण युवा क्लवका युवाहरुले मार्गनिर्देश बोर्ड राखेका हुन् । पोकली झरना घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई बाटो देखाउन क्लवले विभिन्न बाटो, नाकाहरुमा मार्गनिर्देश बोर्ड राखिएको क्लवका अध्यक्ष एवम् कलाकार अर्जुन घिमिरेले बताए । पोकली जाने बाटो थाहा नपाएर पर्यटकले सास्ती भोग्न नपरोस भन्ने उद्देश्यले करिब १५ हजार लागतमा विभिन्न नाका, दोबाटोहरुमा चार वटा बोर्ड राखिएको घिमिरेले जानकारी दिए ।
लेतीडाँडा, वाच्पुको पिङडाँडा, पोकली झरना नजिकै पिकनिक स्पट छेउमा र मुख्य प्रवेशद्वार नजिकै ‘साइनबोर्ड’ राखिएको छ । युवा क्लवको अभियानमा सिंहदेवी कन्स्ट्रक्सनले आवश्यक सिमेन्ट र फलामको पाईप उपलब्ध गराएको क्लवले जनाएको छ ।