काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज मंगलबार देखी सुनुवाई सुरु हुने भएको छ । उच्च अदालत पाटनमा आज देखी निरन्तर प्रतिवादीका तर्फबाट ६० जना भन्दा बढी कानुन व्यवसायीले बहस गर्ने भएको छ । प्रतिवादीका तर्फबाट ६० जना भन्दा बढी कानुन व्यवसायीले बहस गर्नेे भएकोले सुनुवाइको तालिका केहि दिन चल्न सक्ने छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउँदै अमेरिका पठाइदिने भन्दै गिरोह सञ्चालन गरेको मुद्दामा अहिलेसम्म ६ पटक पेशी चढे पनि विभिन्न बहानामा सुनुवाइ हुन सकेको थिएन । पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध मुख्य अभियुक्तले उच्च अदालतमा पुनरावेदन दिएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा पूर्वमन्त्रीद्वय बालकृष्ण खाण, टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ र तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई थुनामा छन् । खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, बिचौलिया केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन र सागर राई पनि पुर्पक्षका लागि थुनामै रहेका छन ।