रामेछाप । जिल्लामा महामारीको रुपमा फैलिएको कोरोना संक्रमितको दर दैनिक बृद्धि हुँदै जाँदा अस्पतालमा बिरामीहरुले वेड नपाइरहेको बेला जिल्ला अस्पताल रामेछापका चारवटा आइसियु बेड लामो समयदेखी प्रयोग बिहिन अवस्थामा रहेका छन् ।
गम्भिर प्रकृतीका बिरामीहरुलाई उपचारमा सहजता पुगोस् भन्ने हेतुले जिल्ला अस्पताल रामेछापलाई बागमती प्रदेस सरकारले गएको भदौमा दिएका ५ वटा आइसियु उपलव्ध गराएकाे थियाे । जसमध्ये हालसम्म एकवटा वेड मात्रै प्रयोगमा आएको र अन्य ४ वटा आइसियु बेड अझै पनि प्रयोगमा आउन सकेको छैन् । जिल्ला अस्पताल रामेछापमा प्राप्त भएका ५ वटा वेडहरु मध्ये एकवटा मात्रै प्रयोगमा आएको जिल्ला अस्पताल रामेछापका प्रमुख डा.नितेन्द्र कर्णले जानकारी दिए ।
उनका अनुसार– प्रदेश सरकारवाट जिल्ला अस्पताल रामेछापमा आइसियु वेड ५ वटा, हाइफ्रो म्यादर क्यानुला १ वटा र मनिटर एकवटा मात्रै प्राप्त भएको छ । प्राप्त भएका आइसियु वेड संञ्चालन गर्न मनिटर लगाएतका उपकरणहरु आवश्यक पर्ने भएकाले हाल एकवटा वेड मात्रै संञ्चालनमा आएको र अन्य ४ वटा वेडहरु प्रयोगमा ल्याउन नसकिएको डा.कर्णले बताए ।
कोरोना संक्रमणका कारण जिल्लामा आइसियु बेड नहुँदा दैनिक बिरामीहरुलाई राजधानीका विभिन्न अस्पतालहरुमा रिफर गर्दै आएको जिल्ला अस्पतालले कार्यालयमा भएको समेत बेड संञ्चालनमा ल्याउन सकेको छैन् । जिल्ला अस्पतालमा प्राप्त भएको अन्य आइसियु वेड संञ्चालनमा ल्याउन मनिटर खरिद प्रक्रियामा भएकाले मनिटर लगाएतका उपकरणहरु खरिद भएपछि मात्रै सबै वेडहरु सञ्चालनमा आउने जिल्ला अस्पताल रामेछापले जनाएको छ ।
कोरोनाका कारण सहज रुपमा आइसियु वेड र अक्सिजन नपाएर केही व्यक्तिले मृत्यु बरण गरिसक्दा पनि जिल्ला अस्पतालले भएको आइसियु बेड सञ्चालनमा नल्याएर आम नागरिकहरुको स्वास्थ्यमाथी कर्मचारीहरुले गम्भिर खेलवाड गरि चरम लापर्वाही गरेको नेपाली काँग्रेस रामेछापका सचिव लेखवहादुर कार्कीले जानकारी दिए ।
उनले भने– अस्पतालमा आइसियु बेड छैन् भन्दै विभिन्न दाताहरुसँग हात पसार्दै हिड्ने जिल्ला अस्पतालका कर्मचारी र अस्पताल व्यवस्थापन समितिका पदाधिकारीले अस्पतालमा भएका बेड सञ्चालनमा ल्याउन नसक्नु ज्यादै दुुःखद कुरा हो । अस्पतालले तत्काल आइसियु बेड सञ्चालनमा ल्याई कोरोना संक्रमितको उपचार गर्नुपर्ने सचिव कार्कीले बताए ।
आइसियु बेड जिल्लामा नहुँदा धेरै नागरिकहरुले उपचार नभएको भन्दै केही दिनअघि मात्रै नेपाली काँग्रेसका नेता पूर्णवहादुर तामाङ (कान्छाराम) ले ३ वटा आइसियु वेड र अक्सिजन सहित तामाकोशी अस्पतालमा हस्तान्तरण गरेका थिए । हस्तान्तरण गरिएका ती बेडहरु तत्कालै प्रयोगमा आउने तामाकोशी अस्पतालले जनाएको छ । जिल्लामा अहिले पनि आइसियु बेडको अभावमा राजधानीका विभिन्न अस्पतालहरुमा उपचार लिन जानु पर्ने वाध्यता बिरामीहरुको रहेको छ ।