रामेछाप । जिल्लाको उत्तरी क्षेत्रको उच्च भुभागमा रहेका चौरी गोठहरु हिमपातसँगै अत्यन्त चिसो वढेपछि अहिले तल्लो भेगमा सारिएको छ ।
लेकाली भु–भागमा तुषारो र हिउँ पर्न थालेपछि उच्च पहाडि क्षेत्रतिर अत्यन्त चिसो बढेकाले अहिले माथिल्लो क्षेत्रबाट तल्लो क्षेत्रमा चौंरीहरु झारिएको चौरींपालक किसानहरुले बताएका छन् । जिल्लाको बाम्ती, गुम्देल, चुचुरे, डडुवा, गौश्वारा लगायतका स्थानमा चौंरी पालक किसानहरुले चिसो छल्नका लागि चौंरी गोठहरु तल्लो क्षेत्रमा सारेको बताएका हुन् । चिसो बढेका कारण चौंरी पालक किसानहरुले कम चिसो हुने तल्लो क्षेत्रतिर गोठ सारेको उमाकुण्ड गाउँपालिका वडा नं–१ की लाक्पा छिरिङ शेर्पाले बताइन ।
तुषारो र हिमपात परेर चिसो बढेकाले चौंरी गाइलाई चिसोबाट जोगाउन माथिल्लो थोदुङ लेकबाट देउरालीतिर सारिएको चुचुरेका किसान नाम्गेल शेर्पाले बताए । तीन हजार ८० मिटरको उचाइमा रहेको थोदुङ लेकबाट २७ सय मिटरको उचाइमा भएको देउराली डाँडामा चौंरी गोठहरु झारिएको छ । देउराली डाँडामा अहिलेको तापक्रम चौंरीका लागि उपयुक्त भएकाले माथिल्लो क्षेत्रबाट यहाँ गोठ सारिएको किसानहरुले बताएका छन् ।
चौरी पालन गर्नको लागि समुन्द्री सतहबाट २ हजार ५ सय मिटर भन्दा माथि र ४ हजार मिटर भन्दा मुनिको उचाइ उपयुक्त हुने भएकाले रामेछापको हकमा उत्तरी क्षेत्रमा वढी मात्रामा चौरी पालिने गरिएको छ । अहिले रामेछापको उच्च हिमाली क्षेत्रमा ८ सय भन्दा बढी चौरीहरु लेकाली जंगलहरुमा रहेको पशु सेवा केन्द्र रामेछापले जनाएको छ ।
चिसो छल्नका लागि चौंरी गोठ झरेसंगै ८ महिनादेखी लेकाली जंगलको विचमा चौंरी गोठमा बस्दै आएका किसानहरु पनि गाउँतीर देखा पर्न थालेका छन् । माथिल्लो क्षेत्रमा चिसो बढेकाले चौंरी गोठसंगै आफहरु पनि गाउँ नजिक झरेको गुम्देलका चौरी किसान निमा शेर्पाले बताए । उनले अव चिसो अबधिभर तल्लो क्षेत्रमा चौंरीसंगै बस्ने र फेरी तापक्रम बढेपछि लेकाली जंगलतिर नै लाग्ने बताए । रामेछाप जिल्लाबाट चौंरी कृषकहरुले बार्षिक रुपमा उत्पादन गरेको ९ हजार लिटर भन्दा बढी दूधबाट चिज, छुप्रि बनाएर विक्रि गर्दै आएका छन् ।