रामेछाप । रामेछाप सिन्धुली जोड्ने खुर्कोट पुल अविरल वर्षा सँगै सुनकोसी नदीमा आएको बाढीले बगाए पछि बिहीबार बाट दोलखाको चरिकोट हुँदै काठमाण्डौं सम्म यातायात सञ्चालनमा आउने भएको छ । मन्थली बाट सिन्धुली हुँदै काठमाण्डौंको भाडा दर ६५४ रुपैंया भए पनि अब दोलखा हुँदै काठमाण्डौं सम्मको भाडा दर ९५४ रुपैंया तोकिएको छ ।
मन्थली बाट चरिकोट हुदैं काठमाडौँ बाइपास सडक खुलेसँगै रामेछापबाट काठमाडौँ नियमित यातायात सेवा सञ्चालन हुने भएको हो । जिल्लाबाट पूर्व अरनिको यातायात प्रालि, वेणी त्रिवेणी यातायात प्रालि सिटी भिलेज यातायात प्रालि लगायतका यातायात प्रालिहरुले बिहीबारबाट मन्थली–काठमाडौँ नियमित सेवा दिने भएका हुन् ।
बिहीबारबाट नियमित बस सेवा सञ्चालनका लागि मन्थली–चरिकोट–काठमाडौँको टिकेट काटिसकिएको पूर्व अरनिको यातायात प्रालि रामेछापका इन्चार्ज सुवास फुयाँलले बताउनुभयो ।
उहाँले भन्नुभयो “मन्थली–चरिकोट–काठमाडौँ बाइपास सडक खुलेसँगै बिहीबारबाट नियमित यातायात सेवा सञ्चालन हुन्छ । पूर्व अरनिको यातायात प्रालिले बुधवार बाटै मन्थली–काठमाडौँको टिकेट काटिसकेको छ ।” अहिले चरिकोट–काठमाडौँको भाडा ६५४ रुपैयाँ रहेको र त्यसमा ३०० रुपैयाँ थप भई मन्थली–काठमाडौँको भाडा ९५४ रुपैयाँ निर्धारण गरिएको उहाँले बताउनु भयो ।