रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं–७ स्थित भटौलीमा खानेपानीको समस्या भएपछि ३८ घरपरिवारको बस्ती नै विस्थापित भएको छ । गाउँवाट एक ग्रागी पानी लिनको लागि दैनीक ६ घण्टा पैदल हिडेर पनि प्रयाप्त मात्रामा पानी नपाएछि उनीहरुले पानीकै लागि गाउँ नै छाडेका हुन् ।
मन्थली नगरपालिका–७ भटौली स्थित पहरेपानी, पोखरी र टुनिबोटेका ३८ घर परिवार खानेपानीको समस्याको कारण गाउँ नै छाडेर स्थानीय भटौली खोला किनारमा बसाई सरेका हुन् । पहरेपानी, पोखरी र टुनिबोटे टोलमा रहेको ९० घरधुरी मध्ये ३८ घर परिवारले घरमा ताल्चा लगाएर खोला किनारमा बसोबास गर्न थालेका हुन् ।
गाउँमा भएको खानेपानीको मुल सुकेपछि खानेपानीको चरम अभाव व्यहोर्दै आएका त्यस गाउँका अन्य घरपरिवार पनि विस्थापीत हुने अवस्थामा रहेका छन् । बसाई सरेर वाँकी रहेका घरपरिवारका सदस्यहरुलाई अब बसाई कुन स्थानमा सर्ने हो भन्ने चिन्ताले सताएको स्थानिय शिववहादुर कार्कीले वताए ।
खानेपानी समस्याकै कारण गाउँ छोडेर खोला किनारमा झरेका स्थानियहरुलाई खोला किनारको बसाई पनि सुरक्षित नभएको बताएका छन् । भर्खरै खोला किनारमा वस्ती सरेका स्थानियहरुलाई वर्षातको भेलले सताउने चिन्ता एकातिर छदै छ भने अर्कोतिर सार्वजनिक जग्गामा अस्थायी टहरा हालेर वसेका उनीहरुलाई नगरपालिकाले हटाइ हाल्यो भने कहाँ गएर वस्ने भन्ने चिन्ताले आफुहरुलाई झनै सताएको छत्रवहादुर मुग्राती बताउँछन् ।
उनी भन्छन् अन्त जाउँ भने कतै बस्ने ठाउँ नै छैन् । जग्गा जमिन किनौ भने आफुसँग पैसा नै छैन् । कसैले तिमीहरुले दुःख पायौ भनेर जग्गा दिदैनन् । हामी जस्ता गरिव त वाँच्न नै गाह्रो हुने भयो । चुनावमा नेतालाई भोट दिएर जिताए पनि गाउँमा अहिलेसम्म पानीको वन्दोवस्त गर्न नसकेको प्रति मुग्रातीको गुनासो छ ।
खानेपानीको समस्या रहेको बस्तीका लागि बृहत खानेपानी योजना मार्फत पानी पु¥याउने योजना वडा कार्यालयले अघि सारेको भएता पनि तत्कालको लागि भने खानेपानी पु¥याउन सक्ने अवस्था नरहेको वडा नं–७ भटौलीका वडा अध्यक्ष सुदर्शन प्रसाईले जानकारी दिए । उनले भने–वडामा धेरै स्थानमा खानेपानीको चरम अभाव रहेको छ । ती वस्तीसम्म पानी पुरयाउनको लागि खानेपानी डिभिजन कार्यालय सँग समन्वय गरेर वस्तीस्तरसम्म पानी पुरयाउने योजना वडा कार्यालयले अघि सारेको पनि अध्यक्ष प्रसाईले जानकारी दिए ।