रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापको मूल गेटमा श्रीमानको घरमा बस्न पाउनु पर्ने माग गर्दै अनसन बसेकी बिनु यादवको स्वास्थ्यमा समस्या देखा परेको छ । खुल्ला आकाशमुनि चिसोमा लगातार ४ दिन पानी पनि मुखमा नराखी बेसेको कारण स्वास्थ्यमा समस्या देखा परेको मन्थली अस्पतालले जनाएको छ ।
यादव आइतबार दिउसो देखी एक्लै आएर जिल्ला प्रशासन कार्यालय रामेछापको मूल गेटमा अनसन बसेकी छिन् । उनको साथमा आफन्त कोही नहुँदा स्वास्थ्यमा झन् समस्या आउन सक्ने भन्दै मानव अधिकारकर्मी र पत्रकारहरू रेडक्रसको सहयोगमा प्राप्त त्रिपाल बोकेर ओढाउन गएको भए पनि त्रिपाल ओढाउन प्रशासनले दिएनन् ।
जिल्ला प्रशासन कार्यालयको मूल गेटमा चार दिन देखी खुल्ला आकाशमुनि अनसन बस्दा पनि प्रमुख जिल्ला अधिकारी छुट्टै बाटो बनाउने तर अनसन तोडाउने र उपचारको लागी अस्पताल लैजाने तर्फ भने खासै ध्यान दिएको छैन । प्रमुख जिल्ल अधिकारी अनिता निरौला अहिले यादवको स्वास्थ्यमा समस्या देखिँदा समेत दोस्रो बाटो प्रयोग गरेर कार्यालय जाने आउने गरेकी छिन् ।