रामेछापका १२ जना कैदीले पाए आममाफी

रामेछाप । गणतन्त्र दिवसको अवसर पारेर नेपाल सरकारले कैदी बन्दीहरुलाई दिएको आम माफीमा रामेछाप कारागारमा रहेका ११ जना पुरुष र १ जना महिला गरि १२ जना कैदी बन्दीहरुले आम माफी पाएका छन् ।

विभिन्न घटनाका मुद्धा लागेर अदालतले तोकेको सजायमा आधासमय जेल जीवन विताइसकेका कैदी वन्दीहरुलाई उनीहरुले भुक्तान गर्नुपर्ने कैद सजाय कट्टा गरी माफि मिनाहा दिने सरकारी निर्णय भएसँगै रामेछापका १२ जना कैदी वन्दीहरुले आम माफी पाएसँगै उनीहरुलाई कारागारवाट शनिवार रिहा गरिएको जिल्ला कारागार कार्यालय रामेछापका जेलर रामकृष्ण घिमिरेले जानकारी दिए ।

उनका अनुसार– जिल्ला कारागार कार्यालय रामेछापवाट कारागारमा कैद भुक्तान गरिरहेका २१ जना कैदी बन्दीहरुको नाम सिफारिस गरिएको थियो । कार्यालयले गरेको सिफारिसको आधारमा गृह मन्त्रालयले १२ जनालाई मात्रै कैद माफी दिइएको जेलर घिमिरेले बताए ।

आम माफी पाउने कैदी वन्दीहरुमा कर्तव्य ज्यान मुद्धाका ७ जना, ज्यान मार्ने उद्योग मुद्धाका १ जना, सवारी ज्यान मुद्धाका १ जना र बहुविवाह मुद्धाका १ जना रहेका छन् । त्यसैगरी नबवजनी चोरी मुद्धाका १ जना, साधारण चोरी मुद्धाका १ जना गरि १२ जना कैदी वन्दीहरुले कैद मिनाहा पाएका हुन् । कैद मिनाहा पाउनेहरु मध्ये रामेछापका २ जना र अन्य बाहिरी जिल्लाका दश जना रहेको जिल्ला कारागार कार्यालय रामेछापले जनाएको छ ।

Facebook Comments Box