धर्मगुरुले दिए पालिकालाई २४ लाखको स्वास्थ्य सामाग्री

रामेछाप । गाउँपालिकामा दोश्रो कोरोना महामारीको कारण कोरोना भाइरस संक्रमणको दर उच्च भएपछि अक्सिन अभावमा नागरिकहरुले अकालमा ज्यान गुमाउनु नपरोस् भन्दै बेथानका एक धर्मगुरुले अक्सिजन सहितका स्वास्थ्य सामाग्री पालिकालाई उपलव्ध गराएका छन् ।

सुनापति गाउँपालिकामा रहेको सुनापति भ्वाँसा च्यारिटी मेडिकल सेन्टरका सञ्चालक एवं धर्मगुरु विमानसिंह तामाङले विभिन्न दातृनिकायसँगको सहयोगमा २३ लाख ७६ हजार मूल्य बराबरका स्वास्थ्य सामाग्रीहरु सुनापति गाउँपालिकालाई बुझाएका हुन् । धर्मगुरुले ४० वटा ग्याँस भरिएका सिलिण्डर र अन्य स्वास्थ्य सामाग्रीहरु समेत सुनापति गाउँपालिकाका प्रमुख धावा लामा र प्रमुख प्रशासकिय अधिकृत कमलराज श्रेष्ठलाई हस्तान्रण गरेका छन् ।

गाउँमा अस्पताल नहुँदा आफ्नी आमाले समेत उपचार नपाई मृत्युवरण गर्नुपरेको भन्दै धर्मगुरु तामाङले आफ्नी आमाको नाममा व्यक्तिगत लगानीमा अस्पताल समेत सञ्चालनमा ल्याएका छन् । उनले उपचार अभावमा आफ्नी आमाले जस्तै गरी गाउँका अन्य नागरिकहरुले पनि अकालमा ज्यान गुमाउनु नपरोस् भन्दै अस्पताल सञ्चालन गरेका हुन् ।

धर्मगुरुले पालिकामा प्रदान गरेका ग्याँस सहितका सिलिण्डरहरु गाउँपालिकाले सञ्चालनमा ल्याएको कोभिड अस्पतालमा राख्ने भएको छ । पालिकामा कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा पालिकाले स्वास्थ्य सामाग्रीहरुको जोहो भने गर्दै आएको छ । पालिकाले सञ्चालन गरेको कोभिड अस्पतालमा पालिकाले खरिद गरेको अक्सिजन ग्याँस र धर्मगुरुले प्रदान गरेको ग्याँसले अहिले तत्तकालको लागि समस्या टरेको सुनापति गाउँपाकिलाका प्रमुख धावा लामाले जानकारी दिए ।

त्यस्तै पहिलो चरणको कोरोना भाइसर सक्रमणको बेलामा नेपाल सरकारले लगाएको लकडाउनका कारण खाद्यान्न अभाव हुँदा घरमा चुल्हो बल्न छाडेपछि धर्मगुरुले विभिन्न दातृ निकायसँगको पहलमा १ करोड रुपैयाँ वरावरको खाद्यान्न सामाग्री सुनापति गाउँपालिकामा वितरण समेत गरेका थिए ।

Facebook Comments Box